दिउँसोमा ट्रिपर नचलाउन उच्च अदालत पाटनको अादेश, ट्रिपर व्यवसायीको रिट खारेज
६ मंसिर, काठमाडाैँ । उच्च अदालत पाटनले टिपर व्यवसायीलाई पेशा व्यवसाय गर्नका लागि सरकारले निर्धारण गरेको समय पालना गर्न आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले बुधबार टिपर व्यवसायीले पेशा व्यवसाय गर्दा निश्चित मापदण्डको पालना गर्नुपर्ने हुँदा सरकारले निर्धारण गरेको समयको पालना गर्नुपर्ने आदेश जारी गरेको हो ।
आदेशमा व्यवसायीलाई सम्पत्ति कमाउने संवैधानिक हकको पनि संरक्षण हुने र नागरिकको पनि जीउधनको सुरक्षा हुने हुनाले तोकेको समय बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म टिपर नचलाउने भनिएको छ ।

जुनसुकै समयमा पनि टिपर चलाउन पाउनुपर्ने माग गर्दै टिपर व्यवसायी सङ्घ दोलखाले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो । सरकारले टिपरका कारण धेरै नागरिकको ज्यान गएपछि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र चलाउनका लागि समय निर्धारण गरेको थियो ।
अदालतले सरकारले व्यवसायीका लागि आचारसंहिता बनाएर समय निर्धारण गर्नसक्ने भएकाले लिखित जवाफ माग्नुपर्ने कारण नदेखिएको उल्लेख गर्र्र्दै रिट खारेज गरेको छ । रासस
प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार ०४:५२












