६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

ताल र कुण्ड भरिला यहि हो नेपाल खासमा (गजल)


-शम्भु गजुरेल अज्ञानी

छाल हरु आइ रहे ! किनारा भेट्ने आशामा
झरना हरु ले गाई रहे सुरम्य मृदु भाषामा !

निर्धक्क डाँफे लेकमा नाच्दैछ हिमखारमा
वसन्त डाडा चढ्दै छ गुराँस फुल्ने आशामा !

बयली खेल्छ गुयली नुहाइ झरना कन्दरा
अमृत बुंद बर्साउदै जुन हास्छ आकाशमा !

बास्ना उडाइ नाभिको हिमाल चर्ने कस्तुरी
चौरी भेडा पुस्ट छन जडिबुटीको चासमा !

टुङ्ना र डम्फु बजाउदै शेर्पा शिखर चुलिमा
राडी बुन्दैछिन शेर्पिनी भेडी उनको रासमा !

राखेर प्राण हातमा खर्क मा जाने गोठाला
ताल र कुण्ड भरिला यहि हो नेपाल खासमा !

 

बेलकोटगढी- ९
नुवाकोट

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १७:४७