सर्वोच्चका न्यायाधीशकी श्रीमती २२ दिन थुनामा बसेर छुटिन्, सहमतिमै ‘किर्ते’ गरेको वयान
५मंसिर , उदयपुर । सर्वोच्चका न्यायाधीशकी श्रीमती २२ दिन थुनामा बसेर छुटेकी छिन् । नक्कली छोरा बनाएर जन्मदर्ता गरेको अभियोगमा २२ दिन थुनामा परेकी सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी थुनामुक्त भएकी हुन् । ललिताकुमारीका ससुरा बलबहादुर राउतले दिएको उजुरीका आधारमा प्रहरीले उनीसहित उनका दाजु र भाउजुलाई १४ कात्तिकमा पक्राउ गरेको थियो ।
मुद्दाको प्रारम्भिक सुनुवाईका क्रममा जिल्ला अदालत उदयपुरले तीनै जनालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका उनीहरु जिल्ला अदालतकै आदेशानुसार बुधवार रिहा भएका हुन् । प्रहरीले उनीविरुद्ध सरकारी कागजात किर्तेको अभियोगमा मुद्दा चलाएको थियो । न्यायाधीश तीर्थराज केसीको इजलाशले कागजात किर्तेको मुद्दामा प्रतिवादी पक्षले प्रमाण नष्ट गर्ने संभावना नरेकाले ललिताकुमारीलाई रिहा गर्न आदेश दिएको हो ।
‘निजहरूलाई हिरासत नराखी अड्डाले खोजेको बखत उपस्थति गराउने शर्तमा मुद्दाको अनुसन्धान गर्न कुनै वाधा नदेखिने हुँदा थप अवधि हिरासतमा नराखी अनुसन्धान गर्नुहोला,’ न्यायाधीश केसीको इजलाशले जारी गरेको आदेशमा भनिएको छ । १४ वर्ष अगाडि विवाह गरेका प्रकाशमान र ललिताका सन्तान छैनन् । ललिताले श्रीमान् (न्यायाधीश प्रकाशमान सिंह राउत)कै सहमतिमा दाजु–भाउजुको सन्तानलाई आफ्नो बनाएर जन्मदर्ता गराएको प्रहरीमा बयान दिएकी थिइन् ।
प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १६:५२












