मोहम्मद हुसेन हत्याको विरोधमा शवसहित प्रदर्शन, विराटनगर इटहरी सडक अवरूद्व
५ मंसिर, सुनसरी । सुनसरीको दुहबीमा मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा स्थानीयले विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमा उत्रिएका उनीहरुले हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न पनि माग गरेका छन् ।

प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने मागसमेत गरेका छन् । स्थानीयले हुसेनको शवलाई गाडीमा राखेर सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण विराटनगर इटहरी खण्डमा आवागमन बन्द भएको छ ।
दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजरसमेत रहेका हुसेनको बुधबार विहान साढे ६ बजे गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा उनीमाथि गोली हानेका थिए । मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी हुसेनका भाइ हुन् ।
प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १४:४८












