२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

कैलाशले ‘कु’ गरेको एमाले धादिङको अधिवेशन अनिश्चित, अर्को मिति काशिनाथले तोक्ने

२३ माघ, काठमाडौँ ।  नेकपा एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले ‘कु’ गरेको धादिङको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । अधिवेशन बन्दसत्रमा प्रवेश गरेपछि प्रदेश अध्यक्ष कैलाशले ‘कु’ गरेर स्थगित गरी काठमाडौँ हिँडेका थिए । ‘कु’ को कारण भने बागमती प्रदेश अधिवेशनमा ढुंगेलले धादिङका एमाले नेता डा खेम लोहनीबाट प्राप्त गरेको सहयोग नै हो ।

कैलाशले अधिवेशनको सहयोगको गुन तिर्नका लागि लोहनीकै इच्छामा धादिङको उनको समूहको रक्षाका लागि अधिवेशनमाथि नै ‘कु’ गरेका हुन । लोहनी समूहले धादिङमा ओलीका पूर्व स्वकीय सचिव रमेश आचार्यका पिता रामुकुमार आचार्य र लोहनीका भाइ हरिराम लोहनीलाई उपाध्यक्ष र सचिवमा सेट गर्नका लागि बार्गेनिङ गरिरहेको छ । यद्यपी यो विवाद केन्द्रमा पुगेको र अध्यक्ष र महाचसिव दुबैले जानकारीमा लिएका कारण अध्यक्षका प्रत्याशी भनेर चर्चामा रहेका वर्तमान अध्यक्ष भूमि त्रिपाठी र डा रामकुमार अधिकारीलाई पन्छाएर तेस्रो व्यक्तिको रूपमा रामकुमार आचार्यलाई अध्यक्ष घोषणा गरेर रातो टीका लगाउने खतरा पनि उत्तिकै छ ।

अध्यक्ष मण्डलको निर्णय एकातिर र कैलाशको ‘कु’ अर्कोतिर भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका नेता र केही केन्द्रीय नेतालाईसँगै राखी विवादको न्यायोचित निरूपणको जिम्मा संगठन विभागलाई दिएका छन । कतिपयले विगतमा आफ्ना निकट र सहयोगी भनेर चिनिएका विनोद ढकाल र केशव पाण्डेहरूलाई प्रदेश अध्यक्षमा रोकेका ओलीले धादिङमा पनि भूमि त्रिपाठीलाई रोक्न खोजेको अनुमान गरेका छन । तर ओलीले धादिङको विवादका सम्बन्धमा व्यक्तिका बारेमा कुरा नगरी संगठन विभागललाई निरूपणको जिम्मा दिएका छन ।

यो पनि पढ्नुहोस् 

एमाले धादिङको अधिवेशनमा कैलाशको ‘कु’, ओलीको निर्देशन सुन्न अध्यक्ष मण्डललाई बालकोटमा निम्तो

एमाले अधिवेशनः आफैँ लडेका सन्तोषलाई झडपमा घाइते भनेर लोहनी समूहले गरेको प्रचार झुठो

आज मंगलबार बिहान ८ बजेबाट बन्दसत्र सुरू हुने विज्ञप्ति निकालेका अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले अधिवेशनको अर्को मिति वा समयबारे पछि जानकारी हुने बताए । उनको नाममा हस्ताक्षर गरेको विज्ञप्ति सोमबार सामाजिक सञ्जालमा व्याप्त बनेको थियो । उनले मंगलबार बिहान अर्को विज्ञप्ति प्रकाशित गर्दै अब संगठन विभागले जानकारी दिएपछि अधिवेशनको अर्को मिति तय गरिने जानकारी दिए ।

दैनिकीले धादिङको अधिवेशनको विवादका सम्बन्धमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारीसँग चासो राख्दा उनले धादिङबारेमा कुनै ठोस निर्णय नभएको बताए । संगठन विभागले धादिङको विवाद सधानका लागि स्थायी कमिटी सदस्य एवं विभागका सदस्य भानु भक्त ढकाल र विभागका सचिव माधव ढुंगेल रहेको कार्यदल बनाएको हो भन्ने दैनिकीको प्रश्नमा उनले भने, ‘धादिङमा बारेमा ठोस निर्णय गरेका छैनौँ । तपाईले भनेको जस्तो केही भएको छैन ।’

यद्यपी एमालेका धादिङका अध्यक्ष भूमि त्रिपाठीले पार्टी सचिवालयले विवाद निरूपणको जिम्मा संगठन विभागलाई दिएको जानकारी दिँदै विभागबाट भानु भक्त ढकाल र माधव ढुंगेलले काम गर्ने जानकारी दिए । दैनिकीले त्रिपाठीसँग अब तपाईहरुको जिल्ला अधिवेशन अनिश्चिचतकालका लागि स्थगित भएको हो भन्ने प्रश्न गर्दा उनले भने, ‘अनिश्चितकालका लागि त होइन । संगठन विभागबाट भानु भक्त ढकाल र माधव ढुंगेलले हेर्दै हुनुहुन्छ । उहाँहरूलाई केही दिन लाग्ला । उहाँलाई लाग्ने समयका आधारमा जिल्ला अधिवेशनको अर्को मिति तय हुन्छ ।’

त्रिपाठीसँग अधिवेशनको अर्को मिति चाहिँ अध्यक्ष मण्डलले तोक्छ कि कसले भन्ने जिज्ञासा राख्दा उनले पार्टी अध्यक्षसँगको छलफल र निर्देशन अनुसार संगठन विभागले नै अधिवेशनको अर्को मिति तय गर्ने जानकारी दिए । योसँगै धादिङको जिल्ला अधिवेशन स्थगित भएको छ । यसअघि शनिबारबाट अधिवेशन सुरू भएको थियो । कैलाश ढुंगेलले ‘कु’ गरेको धादिङको जिल्ला अधिवेशन अब के र कस्तो हुने भन्ने संगठन विभागका प्रमुख काशिनाथ अधिकारीको हातमा पुगेको छ ।

एमाले धादिङको अधिवेशनका लागि ५८० प्रतिनिधि छनौट भएका थिए । भूगोलबाट ३० बराबर १ जनाका दरले प्रतिनिधि छानिएका थिए भने जनसंगठनबाट तीन तीन जनाको दरले छानिएका थिए । त्यस्तै विभागहरूबाट एक एक जना र ५ प्रतिशत प्रतिनिधि मनोनित गरिएका थिए ।

यसअघि लोहनी समूहले आफैँ लडेका सन्तोष खड्काको अधिवेशनमा झडप हुँदा हात भाँचिएको भनेर लोहनी समूहले प्रचार गरेको थियो । यद्यपी हात भाँचिएका युवा स्वयंले आफैँ लडेको बताएका थिए । जिल्ला अधिवेशनको बन्दसत्रमा प्रदेश कमिटीका सदस्य रमेश आचार्यले विवादको बिजारोपण गरेका थिए । उनी अध्यक्ष त्रिपाठीको प्रस्ताव माथि आपत्ति जनाउँदै लम्कीझक्की गर्दै मञ्चमै चढेर विवाद सिर्जना गरेको भिडियो तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ०९:५७