चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो, यस्ताे छ प्रतिसेयर आम्दानी
२२ माघ, काठमाडौँ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ६१ करोड २० लाख रुपैयाँ कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ६२ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले ३७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ५.५० प्रतिशतले कम हो । गत आर्थिक वर्षकाे साेही अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियाे । कम्पनीको सञ्चित नाफा १५.४९ प्रतिशतले घट्दै २ अर्ब ५३ करोडमा खुम्चिएको छ ।
समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी १०.१५ प्रतिशत घटेको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५६ पैसा घटेर ९ रुपैयाँ ५० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा रहेको छ ।
प्रकाशित मिति : २२ माघ २०८०, सोमबार ११:२०












