२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

एमाले धादिङको अधिवेशनमा कैलाशको ‘कु’, ओलीको निर्देशन सुन्न अध्यक्ष मण्डललाई बालकोटमा निम्तो

२१ माघ, धादिङ । नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशन भोलि सोमबारसम्मका लागि स्थगित भएको छ । एमाले नेता खेम लोहनी निकटका नेताहरू चुनावबाट बढारिने भएपछि प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले अधिवेशनमाथि ‘कु’ गरेका हुन । २०७९ मा भएको स्थानीय र प्रतिनिधिसभा अनि प्रदेशसभाको निर्वाचनमा पार्टीलाई सोत्तर बनाउन अग्राणी भूमिका निर्वाह गरेका लोहनीले गुट रक्षाका लागि ढुंगेलले अधिवेशन माथि ‘कु’ गरेको नेताहरूले बताएका छन ।

ढुंगेललाई प्रदेश अध्यक्ष बनाउनका लागि लोहनीले आफ्नो दाबी छाडेका थिए । यद्यपी पार्टी हेडक्वार्टरले भने लोहनीले चुनाव जित्ने सुनिश्चित नभएपछि ढुंगेललाई प्रदेशको अध्यक्षमा अघि सारेको दाबी गर्दै आएको छ । ढुंगेलले गुन तिर्ने नाममा बैध अधिवेशनमाथि नै ‘कु’ गरेका हुन ।

एमालेको बागमती प्रदेशका इन्चार्ज गुरू बराल मोरङमा पार्टी भताभुङ्ग बनाउन भूमिका खेलाका र ढुंगेल रामेछापमा पार्टी भताभुङ्ग बनाउन भूमिका खेलाका कारण चर्चामा छन । देखेको सत्य कुरा पनि पार्टी भित्र गर्दा कारबाही हुने भयले नेताहरूले भने यस्तो विषयमा मुख खोल्न सकेका छैननन् ।

धादिङमा भने जिल्ला अध्यक्ष भूमि त्रिपाठीले कैलाशको ‘कु’ लाई चुनौति दिँदै विज्ञप्ति नै जारी गरेका छन । कैलाशले एक पक्षीय रूपमा अधिवेशन नै स्थगित भयो भनेर विज्ञप्ति जारी गरेपछि जिल्ला अध्यक्ष भूमिले पनि केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी हल्ला गरेको र त्यो सत्य नभएको भन्दै विज्ञप्ति जारी गरेका छन ।

अध्यक्ष मण्डलका अध्यक्ष अध्यक्ष धर्मदत्त देवकोटा र भूमि त्रिपाठीहरू अधिवेशन सञ्चालन गर्ने पक्षमै रहे पनि बिहानै अधिवेशन स्थगित भनेर विज्ञप्ति निकालेर काठमाडौँ कुदेका प्रदेश इन्चार्ज गुरू बराल र प्रदेश अध्यक्ष ढुंगेलले अध्यक्ष केपी शर्मा ओलीको निवास बालोकटामा भोलि बिहानका लागि बैठक सुनिश्चत गराएर पार्टी हेडक्वार्टरको निर्देशन भन्दै अधिवेशन स्थगित गराएका छन ।

पार्टी हेडक्वार्टरले हस्तक्षेप गरेपछि अध्यक्ष मण्डलका सदस्यहरू सबै काठमाडौँतिर लागेका छन । उनीहरूले भोलि बिहान अध्यक्ष ओलीको निवासमा अध्यक्षले निर्देशनात्मक हस्तक्षेप गर्ने जानकारी अध्यक्ष मण्डललाई गराएका छन । जिल्ला अधिवेशन स्थगित गराएर ओली बालकोटबाटै धादिङको पार्टी चलाउन खोजेको भन्दै पार्टीका नेता कार्यकर्ताले भने सामाजिक सञ्जाल मार्फत चर्को असन्तुष्टि जनाएका छन ।

लोहनी समूहले धादिङमा ओलीका पूर्व स्वकीय सचिव रमेश आचार्यका पिता रामुकुमार आचार्य र लोहनीका भाइ हरिराम लोहनीलाई उपाध्यक्ष र सचिवमा सेट गर्नका लागि बार्गेनिङ गरिरहेको छ । चुनावी मैदानमा प्रतिस्पर्धामा जाँदा लोहनी समूहका उम्मेदवारले मुस्किलले १० देखि १५ प्रतिशतमात्र मत ल्याउने नेताहरूले बताएका छन ।

यद्यपी पार्टी हेडक्वार्टरसँग नजिक भएका कारण लोहनीले माथिको शक्तिको दुरूपयोग गरिरहेको बुझिएको छ । लोहनी समूहबाट अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका डा रामकुमार अधिकारले भने चुनावै हुने परिस्थितिमा आफैँ उम्मेदवारी फिर्ता लिने स्रोतले जनाएको छ । अधिकारी पराजयको पूर्व सूचनाबाट निकै त्रसित देखिएका छन । यद्यपी आफूले दुइ पटक प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गर्ने अवसर लोहनीकै कारण प्राप्त भएको अधिकारीमा बुझाइ छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार १३:४२