१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

१९ जना राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन, कोशीमा कांग्रेसलाई डर

११ माघ, काठमाडाैँ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ । राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।

हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् । आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।

निर्वाचनमा सत्तारूढ गठबन्धन एक भएर प्रस्तुत भएका छन भने कोशी प्रदेशमा बाहेक विपक्षी दलहरूमा एकता छैन । कोशी प्रदेशमा भने नेकपा एमाले र राप्रपाले तालमेल गरेका छन । कोशीमा नेपाली कांग्रेसबाट भर्खरै भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कृष्ण सिटाैला उम्मेदवार भएका कारण तीब्र असन्तुष्टिहरू व्यक्त भएका छन । विपक्षी गठबन्धन र सत्ता गठबन्धनको बीचमा मतभारतको ठूलो अन्तर नरहेका कारण कोशीमा कांग्रेस शशंकित देखिएको छ । यद्यपी गणित अनुसार गठबन्धन अघि देखिन्छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ०८:३६