१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

ओली सरकारले नियुक्ति दिएका तीन पौडेल भ्रष्टाचारमा तानिए, दुई पक्राउ एकविरूद्ध मुद्दा

१० माघ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा विभिन्न तीन वटा महत्वपूर्ण निकायमा कार्यकारी नियुक्ति लिएका तीन जना पदाधिकारी भ्रष्टाचारमा मुद्दामा तानिएका छन । तत्कालीन ओली सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेका सुरेन्द्र पौडेल आफूले जागिर खानुपूर्व नै भएको उदयपुर सिमेन्ट उद्योगको निर्णयको भुक्तानीका विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको मुद्दामा परेका छन ।

पौडेलले आफू नियुक्त हुनुपूर्व नै उद्योगमा सामान खरिद गर्दा अत्याधिक मुल्याकंन गरि भएको कामको भुक्तानी दिएका थिए । बुधबार अख्तियारले  २२ लाख ७८ हजार ३०५ रूपैयाँ विगो दावी सहित भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । आयोगले पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई समेत भ्रष्टाचारको मुद्दामा प्रतिवादी बनाएको छ ।

रोचक के छ भने अख्तियारले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध १८ करोड भ्रष्टाचारको मुद्दा दायर गरेकै दिन पौडेल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । चार्टर्ड एकाउन्टेन्ट रहेका पौडेल उदयपुर सिमेन्ट कारखानालाई सुधार गरी चर्चा बटुल्न सफल भएका थिए । तर तिनै पौडेलकोबिरूद्धमा बुधबार आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

यता आयोगले बुधबार नै ओली सरकारकै पालमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकमा नियुक्ति पाएका विकल पौडेल र राष्ट्रिय सूचना प्रबिधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई पक्राउ गरेको छ । सुनिल हल नेपाल टेलिकमका कार्यकारी निर्देशक रहेका थिए । अख्तियारले भ्रष्टाचारविरूद्धको मुद्दा दर्ता गरेसँगै निलम्बित रहेका उनी बुधबार पक्राउ परेका हुन । पौडेलद्धय माथि गैरकानूनी सम्पत्तिआर्जनको समेत मुद्दा छ ।

अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २०८० असोज १५ गते पेमेन्ट गेटवेमा २३ करोड २७ लाख ५८ हजार रुपैयाँ  भ्रष्टाचार भएको ठहरसहित विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो भने विकल पौडेल लगायतविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड बढी भ्रष्टाचार भएको ठहरसहित मुद्दा गरेको थियो ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार २०:१२