६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

कतारमा कम्पनीले तलव नदिएपछि एक नेपालीले आत्महत्या गरेकाे खुलासा

२ मंसिर, काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका एक नेपालीले आत्महत्या गरेका छन् । कतारको एक्वा मास्र्ट कम्पनीमा बिगत ५ वर्षदेखि कार्यरत काठमाडौँ जोरपाटी अत्तरखेलका ४६ वर्षीय इमानसिंह जिम्बाले गत सोमबार कम्पनीको होस्टल नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । गत मार्चमा ३ महिनाको घरबिदा सकेर पुनः कतार पुगेका जिम्बा बिगत ५ महिनादेखि कम्पनीले तलब नदिएपछि तनावमा थिए ।

रोजगारीका लागि साइप्रस पुगेका भाइको उतै निधन भएपछि २०१०मा जिम्बा कतार पुगेका थिए । तर कम्पनीले लामोसमयसम्म पनि तलब नदिएपछि मानसिक तनावका कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

उक्त कम्पनीमा ४४ जना नेपाली सहित ७७ जना आप्रवासी कामदारले लामो समयसम्म तलब पाउन नसकेको खरालले जानकारी दिएका छन् । घटना बारे कतार स्थित नेपाली दूतावासलाई पटक पट्क सम्पर्क गरेर जानकारी गराउन खोज्दा समेत सम्पर्क हुन नसकेपछि मृतकको शव नेपाल पठाउन र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न समस्या भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार १७:१८