२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

कांग्रेस नेतृ द्रौपदा शर्मा पोखरेलको निधन

९ माघ , काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ । प्रजातन्त्र सेनानी स्वर्गीय गोबद्र्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् ।

गोबद्र्धन शर्माको सर्वस्व हरणपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरेर पैदल हिँडाइ पोखरा हिरासतमा लगिएको थियो । गोबद्र्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक द्रौपदाको चार छोरा रामचन्द्र, कृष्णचन्द्र, डा जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीद्वय प्रियंवदा र सत्यवती छन्। उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्रले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १०:४०