भद्रभलाद्मीको सभा मै युवतीमाथि सार्वजनिक बलात्कारको माग, बिरोध गर्दा कुटिए सांसद
२ मंसिर, काठमाडौं । गाउँका भद्रभलाद्मीको सभा मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखे पछि त्यसको विरोध गर्दा सांसद रामप्रित पासवन कुटिएका हुन् ।
मदनपुर निवासी रामप्रसाद रायकी कक्षा ११ मा पढ्ने छोरी पुनितकुमारी गत कात्तिक २८ गते घरबाट भागेकी थिइन् । स्थानीय रायहरुले गाउँकै सन्तोष राममाथि उनलाई भगाएको आरोप लगाएपछि शुक्रबार विवाद सुल्झाउन भद्रभलाद्मीको सभा बसेको थियो ।

स्थानीय दलित समुदायको आग्रहमा आफू पनि पञ्चायतीमा गएको सांसद पासवानले बताएका छन् । उनका अनुसार सन्तोषले केटी भगाएको कुनै प्रमाण सो पञ्चायतीमा पेश भएको थिएन । स्कुलमा सँगै पढेको र राम्रो सम्वन्ध भएकाले शंकाको भरमा सोधपुछ गरिएको थियो ।
सन्तोषले यदि दुई दिनभित्र पुनितलाई उपस्थित नगराए भद्रभलाद्मीहरूले सन्तोषकी अविवाहित बहिनीलाई सार्वजनिक रुपमा बलात्कार गर्नुपर्ने माग राखे । यस्तो अपराधिक सामाजिक कुरा नगरौं भन्दा अाफुमाथी कुटपिट भएकाे सांसद पासवान बताउँछन् ।
बलात्कार गर्नुपर्ने मागको विरोध गर्दा आफूमाथि गालीगलौज गर्दै कुटपिट भएको पासवानकाे गुनासो छ । दलित भएकै कारण सन्ताेसमाथि आरोप लगाइएको र आफूमाथि पनि दलित भएकै कारण कुटपिट भएको उनले बताए ।
सांसद पासवान भन्छन्, ‘अहिले पनि कथित उपल्लो जातकाले हामीलाई नेता स्वीकार गर्न सकेका छैनन् । यो घटना एउटा व्यक्तिमाथिको आक्रमण होइन, सिंगो दलित समुदायमाथिकै आक्रमण हो । आफूमाथिको कुटपिटभन्दा पनि सार्वजनिक रुपमा बलात्कार गर्नुपर्ने माग डरलाग्दो भएको भन्दै उनले महिला अधिकारकर्मीहरुले आवाज उठाउनुपर्ने बताए ।
प्रकाशित मिति : २ मंसिर २०७५, आईतवार १३:४७












