नबिल बैंकले कमायो ३ अर्ब २० करोड नाफा, यस्ताे छ प्रतिसेयर आम्दानी
७ माघ, काठमाडाैँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले घटेर ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट घटेर १.२० प्रतिशतमा सीमित भएको छ। बैंकको इम्पेरमेन्ट चार्ज भने १ अर्ब ८८ करोडको बढेर १ अर्ब ९७ करोड पुगेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ६२ पैसा रहेको छ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ रहेको छ । ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर २३ रुपैयाँ ६८ पैसामा कायम भएकाे छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ।
प्रकाशित मिति : ७ माघ २०८०, आईतवार ०९:५७