१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

निजी क्षेत्रले काम गर्ने प्रतिबद्धता जनाए सरकारले सहयोग गर्छः उर्जामन्त्री बस्नेत

४ माघ, काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको ६० प्रतिशत योगदान रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रको साझेदारीमा मात्र समृद्ध नेपाल निर्माणको सङ्कल्प पूरा हुने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को २४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले  निजी क्षेत्रले अगाडि सारेका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र जायज विषयलाई सम्मान गर्दै अगाडि बढेको स्पष्ट पारे । पछिल्लो एक दशकमा आठ सय मेगावाट क्षमताबाट तीन हजार मेगावाट बिजुली उत्पादन हुन थालेको तथा ९८ प्रतिशत घरमा विद्युत् सेवा पुगेको तथ्य पेस गरे । वर्षायाम र सुक्खायामका बीचमा ऊर्जा उत्पादनमा रहेको अन्तर पूरा गर्न आजैदेखि नयाँ ढङ्गले सोच्नुपर्ने उनले बताए ।

मन्त्री बस्नेतले निर्माणाधीन आयोजनालाई शीघ्ररूपमा सम्पन्न गर्ने वातावरण बनाउनैपर्ने, जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने र ऊर्जा मिश्रण अवधारणालाई सँगसँगै अगाडि बढाइने छ बताए । सरकारले ऊर्जा क्षेत्रलाई पूर्वाधारको रूपमा मात्रै नहेरेको बताउँदै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाइ स्वीकार गरिएकाले निश्चिन्त भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

मन्त्री बस्नेतले निजी क्षेत्रलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै भने, “उत्पादन अनुमतिपत्र लिइसकेपछि १० वर्षभन्दा बढी समय उल्लेख्यरूपमा काम किन हुन सकेन, म तपाईँहरूको ध्यानाकर्षण गराउँछु । म इपानको जिम्मेवारीपूर्ण पहलका लागि आग्रह गर्दछु ।” निजी क्षेत्रले आफू यति काम गर्छु भन्ने प्रतिबद्धता लिएर आए सरकारले त्यसका लागि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । उनले विद्युत् खरिद सम्झौता (पिपीए)का विषयमा धेरै चिन्ता नगर्न आग्रह गर्दै भने, “तपाईँहरू यति काम गर्छौँ भनेर आउनुस् । तपाईँहरूको ठाउँबाट गर्नुपर्ने काम पूरा गरेर आउनुस् । मन्त्रालयको तर्फबाट सहजीकरण गर्ने वातावरण बन्छ । निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार तयार छाैँ ।”

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १३:२९