सरकारले आयआर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याउँछः प्रधानमन्त्री ओली
१ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसकाे अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गरेका छन् । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको सन्दर्भमा प्रधानमन्त्री अाेलीले कर दिवसले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी लाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न प्रोत्साहन मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास नभएसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न नसकिने बताउँदै प्रधानमन्त्री अाेलीले हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा नमान्न अाग्रह गरेका हुन् । जनताको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेकाे र राजश्व सङ्कलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको पनि प्रधानमन्त्री ओलीले छ, बताए ।
चालू आर्थिक वर्षको असोज महीनासम्म राजश्व सङ्कलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको र यस अवधिमा राजश्व सङ्कलनमा झण्डै २६ प्रतिशतले वृद्धि भएकाे बताउँदै प्रधानमन्त्री अाेलीले याे अवधिमा कर सङ्कलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको बताएका छन् । राजश्व सङ्कलनको यस्ताे उत्साहजनक क्रमले अझै गति पाउनेछ र समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको साझा सङ्कल्प पुरा हुने समे उनले बताए ।
अब, सरकारले आयआर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वेच्छिक कर सहभागितामार्फत राजश्व प्रणालीलाई सक्षम र सुदृढ बनाउँदै लैजाने उनले बताए । सरकारले शुरु गरेको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने पहललाई सार्थक तुल्याउन हरेक कर्तव्यनिष्ठ नेपाली नागरिकलगायत सम्बन्धित सबैको थप क्रियाशीलता आवश्यक पर्ने प्रधानमन्त्री अाेलीको सन्देशमा उल्लेख गरिएकाे छ ।
प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार ०८:३७












