१५ कम्पनीको साधारण सभा आज बस्दै, कुन- कुनले पारित गर्दैछन् लाभांश ?
२७ पुस, काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत १५ कम्पीको वार्षिक साधारण सभा आज पुस २७ गते शुक्रबार बस्दैछ । आज सपोर्ट लघुवित्त, सिक्लेस हाइड्रोपावर, शिवम् सिमेन्ट्स,बोटलर्स नेपाल (तराई),कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, सामुदायिक लघुवित्त, न्यादी हाइड्रोपावर,नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, अपि पावर कम्पनी, मध्य भोटेकोशी लजविद्युत, सामलिङ पावर, एसियन हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु) को साधारण सभा बस्दैछ ।
यी मध्ये ४ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमा सपोर्ट लघुवित्त, सिक्लेस हाइड्रोपावर, शिवम् सिमेन्ट्स र बोटलर्स नेपाल (तराई) रहेका छन् । बाँकी ११ कम्पनीले बिना लाभांश प्रस्ताव नै साधारण सभा बोलाएका हुन् ।
सपोर्ट लघुवित्तले गत आवका लागि १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद(कर प्रयोजनको लागि) लाभांस गरी कुल १६.६८ प्रतिशत लाभांशको घोषणा गरेको छ । त्यस्तै सिक्लेस हाइड्रोपावरले ६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।
शिवम् सिमेन्ट्सले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांशको घोषणा गरेको छ । यसैगरी बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । यी कम्पनीहरूले प्रस्तावित लाभांश आज बस्ने साधारण सभाहरुबाट पारित गर्नेछन् ।
प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार ०९:४०












