हाथवेसहित ११ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुनले दिँदैछन् लाभांश ?
२६ पुस, काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सूचीकृत ११ कम्पनीको वार्षिक साधारण सभा आज बस्दै छ । आज लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट,एनएमबि बैंक, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन, सानिमा मिडिल तमोर हाइड्रोपावर, अरुण काबेली पावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको साधारण सभा आज बस्दैछ ।
यी मध्ये ५ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपालले मात्रै सभामा लाभांश प्रस्ताव पेश गर्दैछन् । बाँकी ६ कम्पनीले भने लगानीकर्ताको हात खाली बनाउने भएका छन् ।
हाथवे इन्भेष्टमेन्ट नेपालको साधारण सभा लैनचौर ब्यांकेटमा बिहान १० बजे सुरु हुनेछ । यस कम्पनीको सभाले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
लुम्बिनी विकास बैंककाे सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश गरी जम्मा ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
सोल्टी होटलकाे सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभाले ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । विन्ध्यवासिनी हाइड्रोपावरकाे सभा कम्पनीको कार्यालय परिसर नयाँ बनेश्वर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १०:०७












