२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि निष्कासन, क–कसले दिन पाउँछन आवेदन ?

२५ पुस, काठमाडाैं । सर्वोत्तम सिमेन्टले आज (पुस २५ गते) बुधबारदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हाे ।

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि छुट्याएको छ ।

यस्तै, कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेकाे छ ।  बुक बिल्डिंग विधिबाट निष्कासन गरेकाे सेयरको मूल्य पूतिकित्ता ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटाेमा माघ १० गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने माघ १० गते बन्द हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छन् ।

प्रकाशित मिति : 09:18