त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सीमित व्यक्तिकाबीच खुला प्रतिस्पर्धा हुने
२० पुस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सीमित व्यक्तिकोबीचमा खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट गर्न दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि भन्दै सीमित व्यक्तिमात्र उक्त पदका लागि योग्य हुने भन्दै आवेदन माग गरेको हो ।
सिफारिस समितिले योग्यता र अनुभवका आधारमा सीमिति व्यक्तिको बीचमा प्रतिस्पर्धा गराएर उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो । शुक्रबार प्रकाशित सूचनाअनुसार यसका लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख गरेको छ । यसअघि त्रिविको भिसी, रेक्टर र रजिष्ट्रार भैसकेकाहरूले मात्र यसमा प्रतिस्पर्धा गर्न पाउनेछन । आवेदकले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा चारवर्षे व्यावसायिक कार्ययोजनासमेत प्रस्तुत गर्नुपर्ने छ ।
त्रिविका कुलपति एवं प्रधानमन्त्री दाहालले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक ‘क्यालेण्डर’लाई कडाइका साथ लागू गर्नुपर्ने तथा विश्वविद्यालयको प्राज्ञिक वातावरण निर्माण गर्न सबै विश्वविद्यालयलाई तत्काल कार्ययोजना पेस गर्नसमेत निर्देशन दिइसकेका थिए भने विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै ‘मेरिट’का आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेका थिए तर सिफारिस समितिले सिण्डिकेट खडा गरेर दरखास्त आह्वान गरेको छ ।
त्रिविको उपकुलपतिका लागि नेकपा माओवादी निकटका दुइ र नेपाली कांग्रेस निकटका दुइ प्राध्यापकहरू प्रतिस्पर्धामा रहेका छन । यद्यपी जसरी पनि उपकुलपति बन्ने भन्दै निमित्त उपकुलपति शिवलाल भुसालसहित तीर्थ खनियाँ, लेखनाथ शर्मा र चन्द्रमणि पौडेल शक्तिकेन्द्रको दौडधुपमा लागेका छन । सरकारले भने उनीहरूकै सल्लाहमा प्रतिबन्धात्मक खुला प्रतिस्पर्धाको दरखास्त आह्वान गरेको छ।
प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ०९:५०