३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य रहेको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता

१२ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताका बारेमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई अधिकारीको नियुक्त तत्काल बदर गर्न माग गर्दै संयुक्त रुपमा रिट दायर गरेका हुन् ।

राष्ट्र बैंकको गभर्नर बन्न स्नातकोत्तर गरेको हुनु पर्ने व्यवस्था छ । तर गभर्नरले सीए गरेको र सीएको उपाधिले हालसम्म पनि स्नातकोत्तर सरह मान्यता नपाएकोले गभर्नरको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ । उनको योग्यता नपुगेकोले अधिकारीलाई गभर्नर नियुक्त गर्ने मिति २०७६।१२।२४ को निर्णय बदर गर्न रिटमा माग गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ तर सीएको योग्यतालाई नेपालमा स्नातकोत्तर उपाधि मान्ने गरिएको छैन भन्ने रिटमा उल्लेख छ। उक्त रिटको पेशी भोली पुस १३ गते शुक्रबारलाई तोकिएको छ ।

प्रकाशित मिति : 14:06