बैंकमा थुप्रियो पैसा, दिनहुँजसो निक्षेप तान्दै राष्ट्र बैंक
१२ पुस, काठमाडाैं । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुबाट आज २० अर्ब रुपैयाँ निक्षेप तान्ने भएकाे छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले धमाधम निक्षेप संकलन उपकरणमार्फत तरलता खिचेको छ ।
राष्ट्र बैंकले एक साता अवधिको लागि पुस १२ गते बिहीबार २० अर्बको निक्षेप संकलन बोलकबोल गर्न लागेको हो । आज दिउँसो २ बजे बोलकबोल हुनेछ । उक्त रकम २०८० पुस १९ गते सावाँ तथा ब्याज फिर्ता गर्ने हुने राष्ट्र बैंकले जनाएको छ ।
यस बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरुले घटीमा रु १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको लागि आवेदन दिन सक्ने छन् ।
राष्ट्र बैंकले हिजो पुस ११ गते मात्रै ३५ अर्ब रुपैयाँ निक्षेप संकलनका लागि बोलकबोल गरेको थियो । शनिबारसम्म बैंक तथा वित्तीय संस्थाले ६० खर्ब ३४ अर्ब निक्षेप संकलन गरी ५० खर्ब ७ अर्ब लगानी गरेका छन् ।
प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १२:५१












