प्रहरी जवानको तलब भत्ता नै झ्वाम पार्ने पूर्व डीआईजी महेशबिक्रम शाह भ्रष्टाचारी ठहर
११ पुस, काठमाडौँ । प्रहरी जवानको तलब भत्ता नै झ्वाम बनाउने पूर्व डीआईजी महेशबिक्रम शाह भ्रष्टाचारी ठहर भएका छन । विशेष अदालतले बुधबार शाहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । शाहसहित पूर्व सई दिपेन्द्रप्रसाद पनेरु पनि भ्रष्टाचारी ठहर भएका छन ।
बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सो प्रकरणमा भ्रष्टाचारको आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेलाई सफाइ दिँदै शाह र पनेरूलाई भ्रष्टाचारी ठहर गरेको हो । उनीहरूलाई तीन वर्ष भन्दा बढी कैदको सजाए हुने भएका कारण त्यसका लागि छुट्टै सुनुवाइ हुनेछ । त्यसका लागि पुस २५ गते पेशी तोकिएको अदालतले जनाएको छ ।
१०३ जना जवानको तलब भत्ताको रकम ३१ लाख ८८ हजार र नयाँ प्रशिक्षार्थीको तलब भत्ताको नाममा १ दाख ४९ हजार गरी कुल ३३ लाख ३८ हजार रुपैयाँ शाहसहितले अनियमितता गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अभियोग लगाइएको छ । २०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण २०७६ माघमा अवकास पाएका थिए ।
प्रकाशित मिति : ११ पुष २०८०, बुधबार २२:१३












