८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

तीन जीवन बीमा कम्पनीले सार्वजनिक गरे बोनसदर, अधिकतम ८० रुपैयाँसम्म

१० पुस, काठमाडौं । हालसम्म तीन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीले आर्थिक वर्ष २०७९/०८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । हालसम्ममा मेट लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र सिटिजन लाइफले बोनसदर सार्वजनिक गरेका छन् ।

तीन जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७९/०८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् ।

कम्पनीहरुले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि कायम हुने जनाएको छ ।

आर्थिक वर्ष २०७९।०८० को लागि मेट लाइफ इन्स्योरेन्सले बीमितलाई अधिकतम ८० रुपैयाँसम्म बोनस दिने भएको छ ।  त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले बीमितलाई अधिकतम ७७ रुपैयाँसम्म बोनस वितरण दिने छ भने रिलायबल नेपाल लाइफले बीमितलाई अधिकतम ७५ रुपैयाँसम्म बोनस दिनेछ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ७५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस दिने भएकाे त । त्यस्तै, कम्पनीले लघु सावधिक जीवन बीमालेखको सबै बीमा अवधिहरमा ३० रुपैयाँका दरले तथा रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी)का सबै बीमा अवधिहरुमा २५ रुपैयाँसम्म बोनस कायम गरेकाे छ ।

त्यस्तै, रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा न्यूनतम २४ रुपैयाँदेखि अधिकतममा ४० रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख)मा न्यूनतम ६० रुपैयाँदेखि अधिकतममा ६५ रुपैयाँसम्म बोनस ताेकेकाे छ ।

कम्पनीको सावधिक तथा आजिवन बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतममा ५० रुपैयाँसम्म बोनस बीमितले पाउने छन् । कम्पनीले रिलायबल समुन्नती जीवन बीमाको सबै बीमा अवधिहरुमा २० रुपैयाँ बोनस दिने भएको छ । त्यस्तै, कम्पनीले रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफले अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ५५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस दिने भएकाे छ । त्यस्तै, कम्पनीले बार्षिक अग्रिम भुक्तानीमा २५ रुपैयाँदेखि २८ रुपैयाँसम्म बोनस ताेकेकाे छ ।

त्यस्तै, सिटिजन शुभारम्भ सावधिक प्लस बीमालेखमा अवधी अनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिवर्ष प्रति हजारका दरले बीमितले बोनस पाउनेछन् । सावधिक (रेगुलर) बीमालेखमा बीमा अवधी अनुसार न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस निर्धारण भएको छ ।

त्यस्तै, सिटिजन बाल भविष्य बीमालेख अन्तर्गत न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ६७ रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, सावधिक तथा आजिवन बीमालेख (सिटिजन जीवन सारथी) मा बीमा अवधी अनुसार न्यूनतम ३७ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस दर निर्धारण भएको छ ।

मेट लाइफ इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर दिने भएकाे छ । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ र २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँसम्म बोनस निर्धारण गरेकाे छ ।

त्यस्तै, सावधिक जीवन बीमालेखमा न्युनतम प्रति हजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनस पाउनेछन् । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ तथा २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँसम्म बोनस निर्धारण गरेको हो ।

कम्पनीले शिक्षा संरक्षण जीवन बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म दिने भएको छ । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ त्यस्तै, २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँसम्म बोनसदर कम्पनीले निर्धारण गरेको छ ।

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार १२:५३