मौद्रिक नीति समीक्षामा लिइएको लचकता कार्यान्वयनमा जाने, राष्ट्र बैंकले जारी गर्यो यस्तो सर्कुलर
८ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा लिएका नीतिहरुको कार्यान्वयनको लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गरेको छ।
राष्ट्र बैंकले समीक्षामा केहि लचक नीतिहरु अवलम्बन गरेको थियो। सो नीतिहरु अब कार्यान्वयनमा आउने भएका छन्। समीक्षामा लचकता अपनाइए पनि सर्कुलर जारी नहुँदा ती व्यवस्थाहरु कार्यान्वयनमा जान सकेका थिएनन्। राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेसँगै अब उक्त व्यवस्थाहरु कार्यान्वयनमा जाने छन्।
केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामा रियल स्टेट र सेयर धितो कर्जाको जोखिम भार घटााएको थियो। सो व्यवस्था कार्यान्वयन भएसँगै बैंकहरुले रियल स्टेट र सेयर धितो कर्जामा बैंकहरुले कर्जा लगानी बढाउने अपेक्षा गरिएको छ ।
यस्तै, २०७८ भदाै ८ गते पूर्व जारी भएका ऋणपत्र २०८० पुस मसान्तसम्म शतप्रतिशत र सो अवधि पश्चात २०८१ असार मसान्तसम्म उक्त ऋणपत्रको ५० प्रतिशत रकम निक्षेपको रुपमा समेत गणना गर्न सक्नेछन्। यसले पनि बैंकहरुलाई लगानीयोग्य रकममा कम दबाव पर्ने छ।
“यस बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्थाअनुसार उपलब्ध गराइने कर्जाको ब्याजदर (बैंकदर) ७.० प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३.० प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ५.५ प्रतिशत कायम गरिएको छ,” भनिएकाे छ ।
प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १७:११












