मामाले भरूवा बन्दुक पड्काउँदा १३ वर्षीय भाञ्जाको मृत्यु
२८ कात्तिक, वीरगञ्ज । मामाले भरूवा बन्दुक पड्काउँदा १३ वर्षीय भान्जाकाे मृत्यु भएकाे छ । मामाघरमा मृत्यु भएका १३ वर्षीय आर्यन तामाङको निधारमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । पर्सागढी नगरपालिका–३, बढनिहार बजारस्थित मामाघरमा भरुवा बन्दुक पड्किदा उनको निधारमा गोली लागेर मृत्यु भएको हो । शुरुमा तामाङका मामाघरका सदस्यले प्रेसर कुकर पड्केर उनको मृत्यु भएको बताए पनि घटनास्थलमा प्रेसर कुकर पड्केको कुनै प्रमाण नभेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा घटनाको रहस्य खुलेको थियो ।
आर्यनका मामा २४ वर्षका सन्तोष घलेको हातबाट भरुवा बन्दुक पड्केर निधारमा लागेपछि भाञ्जा आर्यनको मृत्यु भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । घलेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘पहिला त उनीहरुले कुकर पड्केर दुर्घटना भएको बताएका थिए, कुकर पड्केको प्रमाण नभेटिएपछि हामीलाई शंका भयो’ प्रहरी उपरीक्षक ढकालले भने ‘अनुसन्धानका क्रममा मामाकै हातबाट गोली चलेर भाञ्जाको मृत्यु भएको कुरा आएको छ । घटनाका बारेमा थप अनुसन्धान हुँदैछ ।’ विस्तृत विवरण आवश्यक अनुसन्धान पछि नै थाहा हुने उनको भनाइ छ । आर्यनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १८:३६












