१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

नेपाल वायुसेवा निगमको आम्दानी दोब्बर बढ्यो

३ पुस, काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७र७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो ।

आव २०७८र७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आम्दानी आव २०७९र८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले गत तीन वर्षको आम्दानीमा एक सय १४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।

विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज उडानमा रहेका छन् । निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार २१:०८