किन लगाए चितवनका विद्यार्थीले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अागाे ?
२८ कात्तिक, चितवन । चितवन जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले अागाे लगाएका छन् । अागाेका कारण विध्यालयमा लाखौंको क्षति भएकाे छ । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल गेट र परीक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेका हुन् ।
आगजनीबाट परीक्षा नियन्त्रण कार्यालयको तल्लो तला क्षतिग्रस्त बनेको छ । कार्यालयको ताला फोडेर भित्र पसेका विद्यार्थीहरुले पेट्रोल छर्किएर आगो लगाएका थिए । उनीहरुले टायरसमेत लगि कार्यालयभित्र नै बालेका थिए । प्रहरी र विश्वविद्यालय सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । उनीहरुले विश्वविद्यालयका झ्यालका सिसासमेत फुटाएर क्षति गरेका छन् । आगजनी र तोडफोडबाट लाखौंको नोक्सानी भएको छ ।
दुई वर्षअघि मात्रै सञ्चालनमा आएको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भवनमा दोस्रोपटक आगजनी गरिएको हो । निजी कलेजलाई दिइएको सम्बन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले विश्वविद्यालयको होस्टलमा बसेर आगजनीको योजना बनाएको प्रहरीले जनाएको छ । आगजनी गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेर उनीहरु माथि अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौंरले बताए ।
प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १२:३६












