३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

सेयर बजारमा लचिलो मौद्रिक नीतिको सकारात्मक प्रभाव, रहला त कायम ?

२४ मंसिर, काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगावै बन्द भएको छ। यस दिनको बजारलाई गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले प्रभाव पारेको हो।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत कर्जा बिस्तार र ब्याजदर घटाउने विषयमा केहि लचिलो नीति लिएको थियो । लचिलो मौद्रिक नीतिको सकारात्मक प्रभाव बजारमा देखिएको छ ।

मुख्यगरी पुँजीबजारसँग सम्बन्धित विषयमा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाई एक सय २५ प्रतिशत कायम गरेको थियो । त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंक दरलाई सात दशमलब पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा कायम गरेको थियो भने नीतिगत दरलाई छ दशमलब पाँच प्रतिशतबाट घटाएर पाँछ दशमल पाँच प्रतिशतमा कायम गरेको थियो । त्यसैगरी निक्षेप सङ्कलन बोलकबोल दरलाई साढे चार प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको थियो ।

आइतबार नेप्से परिसूचक बजार खुलेको ५ मिनेटमा नै ४ प्रतिशत बढेर सर्किट ब्रेक लागि २० मिनेटको लागि कारोबार बन्द भएको थियो। २० मिनेटपश्चात खुलेको बजार २ मिनेटमा नै अर्को एक प्रतिशत बढेपछि बजार पुनः ४० मिनेटको लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजार २ मिनेटमा नै पुनः अर्को एक प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि यस दिनका लागि शेयर कारोबार बन्द भएको हो। यस दिन नेप्सेमा कुल ९ मिनेट मात्र सेयर कारोबार भएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ । आज दुई सय ४४ कम्पनीको १३ लाख ६७ हजार छ सय १५ कित्ता शेयर सात हजार १४ पटक खरिदबिक्री हुँदा रू ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ बराबरको कारोबार भएको छ । रिलायन्स फाइनान्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, राप्ती हाइड्रो एन्ड जेनरल कन्स्ट्रक्सन कम्पनी लिमिटेड, शुभम् पावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : 13:34