२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

चलचित्र ‘दाल भात तरकारी’ मा आँचल, सबै चकित !


२७ कार्तिक,कठमाडाैं । मह संचारको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘दाल भात तरकारी’ मा अहिलेको सफल अभिनेत्री परिवर्तन भएको छ । चर्चित अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो समय अभावको कारण चलचित्रमा भूमिका गर्न नसक्ने भएपछि निर्माण टिमले दोस्रो पटक अभिनेत्री आँचल शर्मालाई साइन गराएको छ ।

मंसिर पहिलो साताबाट छायांकन सुरु हुन लागेको फिल्म स्वस्तिमाले छाड्नुको कारण निर्माता किरण केसी समय अभाव बताउँछन् । उनी भन्छन्, ‘स्वस्तिमाले हाम्रो फिल्मभन्दा अगाडि अर्को एउटा प्रोजेक्ट साइन गरिसकेकी रहेछिन् । छायांकन दुवैको जुध्ने भएपछि सहमतिमै उनले चलचित्र छाडेकी हुन् ।’

जानकारी अनुसार, विकासराज आचार्यले निर्देशन गर्न लागेको फिल्म ‘हजार जुनी सम्म’मा र ‘दाल भात तरकारी’ को सुटिङ जुध्ने भएपछि स्वस्तिमाले विकासराजको फिल्म रोजेकी हुन् । मह जोडीको फिल्ममा स्वस्तिमालाई रिप्लेस गरेर आँचलको प्रवेश हुनुले धेरै आश्चर्यमा परेका छन् । किनकी, उनले यही टिमले निर्माण गरेको ‘शत्रु गते’ खेलेर पछुताएको बयान दिएकी थिइन् ।

उक्त फिल्म खेलेर जस आफूले नपाएको दुखेसो पोख्दै फिल्म ‘ब्ल्याक’ रिलिजको बखत उनले भनेकी थिइन्, ‘अब हुलमुलका फिल्म गर्दिनँ । सोलो हिरोइन बने कमसेकम जस त पाइन्छ ।’ अहिले उनले आफ्नो बोली विपरित काम गरेकी छिन् । ‘शत्रु गते’ जस्तै ‘दाल भात तरकारी’ मा कलाकारको ठूलो भीड छ । यसबाट उनले जस लिन पाउँछिन् वा पाउँदिनन् ? त्यो भने प्रतिक्षा गर्नै पर्ने हुन्छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार १८:०८