७ अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
१८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्न लागेको हो। यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसको साँवा भुक्तानी २०८८ मंसिर २० गते हुनेछ।
यो विकास ऋणपत्रको बोलकबोल भोलि मंसिर १९ गते मंगलबार दिउँसो २ बजेसम्म हुनेछ। यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्याजमा कर लाग्नेछ।
उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन्।
यो ऋणपत्र धितोका रुपमा राखी कर्जा लिन वा दिन पाइनेछ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्कासित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात ५ अर्ब ९५ करोड रुपैयाँ र १ अर्ब ५ करोड रुपैयाँ छुट्याएको छ।
प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १५:५४












