२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

निर्मलाका अामाबुबाले गरे अनिश्चितकालीन धर्ना, हत्यारा पत्ता लगाउन माग

२५ कात्तिक काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दबाव दिँदै आइतबारदेखि निर्मलाका  अनिश्चितकालीन धर्ना दिन सुरु गरेका छन्।

निर्मलाका बुवा यज्ञराज, आमा दुर्गालगायत परिवारका सदस्यहरुले न्यायका लागि सरकारलाई दबाव दिन महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिन सुरु गरेका हुन्। सरकारलाई न्याय दिन बाध्य पार्न थप दबाव दिन अनिश्चितकालीन धर्ना दिन सुरु गरिएको निर्मलाका बुवा यज्ञराज पन्तले जानकारी दिए।

धर्ना दिनुअघि निर्मलाका हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै अधिकारकर्मीहरुसहितको र्‍याली निकालिएको थियो। सरकारले न्याय दिन्छ भन्ने विश्वास नरहेपछि नागरिक समाज र सञ्चारकर्मीहरुकै उपस्थितिमा थप दबाव दिन धर्ना अभियान सुरु गरिएको पनि यज्ञराजले बताए। नागरिक समाज र सञ्चारकर्मीहको पहलमा भने निर्मलाले न्याय पाउने पीडित परिवारको विश्वास छ।

पीडित परिवारले निर्मलाले न्याय नपाए आमरण अनसन बस्ने चेतावनी पनि दिएका छन्। यज्ञराजले छोरीलाई बलात्कारपछि हत्या गर्ने अपराधीलाई पक्राउ गरी कारबाही नगरे आफूहरु आमरण अनसन बस्न बाध्य हुने चेतावनी पनि दिए। उनले सरकारले अपराधीलाई पत्ता लगाउन नसकेकोमा आक्रोश व्यक्त गरे।

धर्नामा निर्मलाका बुबाआमासँगै बहिनी सरस्वती र भाइ मोहितसमेत सहभागी छन्। त्यसैगरी, कान्छी आमा लक्ष्मी र आफन्तहरु पनि धर्नामा सहभागी भएका छन्। यसअघि निर्मलाका बुबा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई भेट गरी धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराएका थिए। निर्मलाका दिदीबहिनी तथा भाइ विद्यालयको पोसाकमै धर्नामा बसेका छन्।

यज्ञराजले छोरीको हत्यारा पत्ता नलागे आफूहरु मर्न तयार हुने चेतावनी पनि दिए। गत श्रावण १० गते साथीको घरमा गएकी निर्मलाको दोस्रो दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो। सोही दिनदेखि हत्यारा पत्ता लगाउन माग गर्दै पीडित परिवार, आफन्तको साथमा देशभर आन्दोलन भएको थियो। सरकारले भने अनुसन्धान जारी रहेको भनेपनि हालसम्म अपराधी पत्ता लगाउन सकेको छैन।

त्यसक्रममा निर्मलाका बुबाआमा न्याय माग्दै काठमाडौं समेत आएका थिए। प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापालाई भेटेरै आग्रह गर्दा पनि अझै आफूहरुले न्याय पाउन नसकेको निर्मलाका बुबा यज्ञराज र आमा दुर्गाको गुनासो छ। पीडित दुवैले छोरीले न्याय नपाए आफूहरु आत्महत्या गर्न तयार हुनेतर्फ पनि सरकारलाई सचेत गराउँदै आएका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार १७:२३