१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नुवाकोटबाट २१ जुवाडे समातिए, पक्राउ पर्नेमा कर्मचारी, ठेकेदार र पत्रकार पनि

३० कार्तिक, नुवाकोट । नुवाकोटमा ६ लाख ११ हजार रूपैयाँसहित २१ जना जुवाडे पक्राउ परेका छन । बुधबार राति नुवाकोट जिल्लाको सदरमुकाम रहेको विदुर नगरपालिका रहेको नर्थ भ्यू होटलमा छापा पारी प्रहरीले जुवाडे समातेको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी सञ्जयसिंह थापाले दैनिकीसँग कुरा गर्दै गएराति जुवा खालबाट २१  जना समातिएको र शुक्रबार म्याद थप गरी थप कारबाही अघि बढाउने  जानकारी दिए ।

जुवाखालबाट पक्राउ पर्नेमा ठेकेदार, कर्मचारी र पत्रकार समेत रहेका छन । भाइटीका लगाएर साँझमा जुवा खालामा बसेका उनीहरू ६ लाख ११ हजारसहित पक्राउ परेका हुन । विदुर नगरपालिका वडा नम्बर ३ घर भएका निर्माण व्यवसायी ४२ वर्षीय कृष्ण अधिकारीसहित सोही वडाका ३४ वर्षीय लक्ष्मण अधिकारी, ४५ वर्षका होमप्रसाद अधिकारी, ३६ वर्षीय रमेश अधिकारी पक्राउ परेका छन ।

यस्तै जुवाको खालबाट विदुर २ कै ४० वर्षीय पवनमान श्रेष्ठ र राधेश्याम डंगोल पनि पक्राउ परेका छन । पक्राउ पर्नेमा बिदुर ९ घर भएका २९ वर्षीय सुजन श्रेष्ठ सोही वडाका ३६ वर्षीय दिपेश श्रेष्ठ, ४२ वर्षीय राजेश श्रेष्ठ, ३६ वर्षीय रविन श्रेष्ठ रहेका छन । यस्तै विदुर ४ घर भएका २५ वर्षीय सरोज गिरी, ३६ वर्षीय रविन्द्र आचार्य, ४३ वर्षीय सफि खान ४० वर्षका विष्णुप्रसाद न्यौपाने, ३९ वर्षीय मंगलदाश तामाङ, ४१ वर्षीय दिनेश श्रेष्ठ, महेश श्रेष्ठ र ईश्वरप्रसाद गुप्ता रहेका छन ।

त्यस्तै विदुर १ का विष्णु न्यौपाने, विदुर–४ घर भएका , वडा नम्बर ९ का रामहरि रिमाल र विदुर ६ का घर भएका सालिकराम अर्याल पक्राउ परेका छन् । पक्राउ परेका मध्ये कृष्ण अधिकारी निर्माण व्यवसायी अर्थात ठेकेदार हुन भने राधेश्याम डंगोल विदुर खानेपानीको कर्मचारी र सरोज गिरी भैरबीखबरका सञ्चालक हुन ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारबाही हुने छ । मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ । जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ । त्यस्तै जुवा खेल्नेलाई ठाउँ उपलब्ध गराउनेलाई पहिलो पटक ३ सय रुपैयाँ जरिवाना, दोस्रो पटकदेखि ३ महिनादेखि ९ महिनासम्म कैदको व्यवस्था पुरानो कानूनमा गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार २०:३७