`दिमाग खराब´ रविरिझ्याइँको सदर मात्र
-विमल आचार्य
`दिमाग खराब´ हेरियो । अपेक्षा बढी त थिएन । तर, यतिसम्म खराब होला भन्ने पनि थिएन । कला पक्षको कुरा गर्दिनँ/जान्दिनँ । तर, सिनेमाको मूल दर्शन ठीक लागेन । चलिरहेको लोकरिझ्याइँलाई यसले विनाप्रश्न सदर गरेको छ । माओवादी मूल धारमा आउँदा लालसलाम जस्ता सिनेमा हेरेको थिएँ ।
जसरी लालसलामहरू चाँडै प्रोपोगन्डा सिनेमा बने । यो सिनेमा पनि केही वर्षमा प्रोपोगन्डा हुनेछ । (म नहोस् चाहन्छु, तर प्रोपोगन्डा मैले बनाउने होइन)
इतिहासदेखि हामी एक युगपछि अर्को, एक क्रान्तिपछि अर्को, एक दलपछि अर्को, एक नेतापछि अर्कोमा रत्तिरहेका छौँ । किन यति संविधान/यति क्रान्ति/यति युग बदलिए पनि राज्य/समाजको मूल चरित्र बदलिएन; हामीले समीक्षा गरेनौँ । समस्याको जरोमा पुगेका छैनौँ ।
सिनेमामाझैँ हामी पुराना दल/नेताप्रति निर्मम छौँ, पुरानालाई विश्वास गर्ने अवस्था छैन पनि । तर, भोला-इन्द्रहरू झन् चाँडै हरिप्रसाद बराल बन्ने सम्भावना म छिटो देख्छु । फेरि मेयरले भ्रष्टाचारका फाइल खोतल्छु भनेर निर्णय गर्नु हास्यास्पद छ, यो रविरिझ्याइँको सदर मात्र हो, कानुन र सिस्टमप्रतिको अज्ञान मात्र हो । आफैँ कार्यपालिका, जहाँ हुन्छ बढी भ्रष्टाचार । उसले त अख्तियार जस्ता संस्था बलियो र स्वायत्त बनाउन सक्दो रोल खेल्ने मात्र हो ।
सिनेमामा एक व्यक्तिको ठाउँमा अर्को व्यक्ति आउनुलाई जसरी विजयोल्लास, सबथोक ठानिएको छ, यो घातक छ । खराबले हार्नैपर्थ्यो तर नयाँले जित्दैमा केही हुनेवाला छैन । हामीले दल मात्र खोलेर, स्वतन्त्र उठेर मात्र, आफैँ कुर्सीमा बसेर मात्र परिवर्तन आउँछ भन्ने सोचेका छौँ । तर, दिगो र सकारात्मक परिवर्तन प्रश्नहरूबाट हुन्छ । सम्यक बहस, शिक्षा, चेतना र सामूहिक प्रयत्नको बाटोबाट मात्र हुन्छ । लोकतान्त्रिक संस्कार र शैलीबाट मात्र हुन्छ । (आलोचना गर्नेलाई शत्रु ठान्ने र गालीगलौज गर्नेहरू नयाँ नेता हैन, बासी नेता हुन् ।) राजनीतिशास्त्रमा दलभन्दा कम महत्त्वपूर्ण छैन- प्रेसर ग्रुप/नागरिक समाज ।
उदाहरणका लागि केदारभक्त माथेमा त्रिविको कुर्सीमा केही वर्ष बस्नु (पूरा कार्यकाल नबसी मोदनाथ प्रश्रितको चाहना/दबाबमा राजीनामा) मात्र सार्थक योगदान होइन । त्यसयता नागरिकका तर्फबाट उनले गरिरहने खबरदारी झनै महत्वपूर्ण छ/हो । सहयोग उठाउँदै/गर्दै हिँड्ने `समाजसेवी´भन्दा कर कहाँ खर्च गर्छौ, हाम्रो कर खोइ भनेर राज्य/सरकारसित हिसाब मागेर सामाजिक न्यायमा खर्च बढा भन्ने नागरिक धेरै राम्रो/आवश्यक हो । जस्तै, यो सिनेमाका स्क्रिप्ट डाक्टर मनोज पण्डित पनि अघिल्लो चुनावमा उठेका थिए । हारे । उनी चुनावयता आफ्नो क्षेत्रको काम/चासो/बजेट/स्रोत बाँडफाँडमा निरन्तर खबरदारीमा छन् भने त्यो सांसद जित्नुभन्दा कम जिम्मेवारीको कुरा होइन । तर, क्षेत्रबाट हराए/निरन्तर बोल्दैनन्/त्यहाँका सांसद/शासकहरूलाई प्रश्न गर्दैनन् भने उनलेे फेरि पनि सय मत नपाउनु अस्वाभाविक हुँदैन ।
निश्चल बस्नेतका लुट र टलकजंग भर्सेस टुल्के मन परेका सिनेमा हुन् । लुट २ झुर लागेथ्यो । केही पहिले दीपेन्द्र लामाको सिनेमा `नांगो गाउँ´ पनि हेरेथेँ । नांगोमा चुनाव हार्ने दया दिमाग खराबमा जित्छन्, बस् । (कथा खुलेकामा क्षमा चाहन्छु) मलाई नांगोको पनि आधारभूत दर्शन मन परेन । चुनाव हारेपछि गनगन गर्ने मिश्रजीको जस्तो पिन्चे राजनीति छ । नागरिकलाई गणेशमानले जसरी भेडा भन्ने/ठान्ने राजनीति आपत्तिजनक नै लाग्छ, मलाई ।
जस्ता जनता, त्यस्तै नेता भनेर जनताको मानमर्दन अर्थात् सम्मुखमा नेताजीहरूको चाकरी गरिरहने मदन पुरस्कारप्राप्त पत्रकारको जस्तो बकम्फुसे कुराको पक्ष लिइएको छ । खराब नागरिकले खराब नेता चुन्छन् भन्नु सतही कुरा हो । नांगो गाउँमा शिक्षक घरी उठेको छ, घरी बसेको छ, घरी फन्केको छ, घरी सन्केको छ । चुनावप्रति उसको दरो प्रतिबद्धता छैन । मनोज पण्डित, युग पाठक, शिक्षक दयाहरूले हारेकै राम्रो हुन्छ । दुई चोटि हार्दा पनि मैदान नछोड्ने हर्क जस्तासित `भगौडा/टुरिस्ट´हरूको तुलना गर्न मिल्दैन ।
दीपेन्द्र लामाको छ माया छपक्कैमा बरु राजनीति राम्रो छ । व्यक्ति हैन, समुदाय आएको छ त्यसमा । सामुदायिक सोच, चेतना, आन्दोलन प्रधान हो, परिवर्तनका लागि । दीपेन्द्र लामाको घामपानी सिनेमा गुण हलमा एक्लै हेरेको, मन छोएको थियो । समग्रमा नांगो गाउँ र दिमाग खराबको राजनीति ठीक लागेन अर्थात् सतही मात्र लाग्यो भन्छु । अरु पक्षबारे पनि बोल्न सकिन्छ, तर `राजनीति´बारे मात्र सानो कुरो है । जय होस् ।
(पत्रकार एवं लेखक आचार्यले सामाजिक सञ्जालमा प्रस्तुत गरेको विचार)
प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार ०७:५०