१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

लक्ष्मीपूजाको दिन विद्युतको माग उच्च, पिक समयमा ५१७ मेगावाट भारततर्फ निर्यात

२७ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गतवर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गतवर्ष कात्तिक ७ गते लक्ष्मी पूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो ।

तिहारमा उद्योग, कलकारखानाहरु बन्दहुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो ।

लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गतवर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्रनिर्यात गरिएको थियो ।

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गतवर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार १०:१३