मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा रहेको छः गभर्नर अधिकारी
२३ कात्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले विभिन्न चुनौतीकाबीच मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा रहेको र यसलाई थप गतिशिल बनाउन जरुरी भएको उल्लेख गरे । बिहीबार काठमाडौंमा भएको ३९ औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने क्षेत्रमा बैंकिङ क्षेत्रका स्रोतसाधनलाई पूर्णरुपमा पुनर्संरचना गर्ने बेला आएको भन्दै दिगो आर्थिक वृद्धि हासिल गर्न जरुरी रहेको बताए ।
गभर्नर अधिकारीले धेरैजसो विकसित अर्थतन्त्रमा मुद्रास्फीति मध्यम रहेको उल्लेख गर्दै मुलुकको मुद्रास्फीति अझै पनि केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि रहेको बताए । उनले केही उदीयमान बजार र विकासशील अर्थतन्त्रहरूले अझै पनि उच्च मुद्रास्फीतिको सामना गरिरहेको बताए । उनले भने, “मध्यपूर्वमा भर्खरै बढ्दो इजरायल–हमास युद्ध र लामो समयसम्म रुस–युक्रेन संकटले मूल्य स्थिरता कायम राख्न चुनौती खडा गरेको छ । फलस्वरूप, धेरै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत कडाइ जारी राखेका छन् । जसले गर्दा लामो समयसम्म उच्च ब्याजदरको सामना गरेनुपरेको देखिन्छ ।”
नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै गभर्नर अधिकारीले डिजिटल बैंकिङ प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए । एसियाली बैंकहरुले खराब कर्जा वृद्धि हुन नदिन सम्भावित जोखिमलाई आत्मसाथ गरेर व्यवस्थानलाई प्रभावकारी बनाउनुपर्ने खाँचो औंल्याए ।
गभर्नर अधिकारीले द्रुत प्राविधिक परिवर्तनले बैंकिङ प्रणालीमा धेरै फाइदा पुगेको र यसले बैंकिङलाई व्यवसायमा रूपान्तरण गरिरहेको भन्दै यसको दिगोपनाका लागि सहज रहनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १६:४२












