२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भूकम्प प्रभावित जाजरकोट जाँदै

१८ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भूकम्प प्रभावित जाजरकोट जाँदैछन । उनी आफ्ना पार्टीका नेता र कार्यकर्तासहित जाजकरकोट जान लागेको फेसबुक मार्फत स्वयंले जानकारी दिएका छन । उनी पाल्पाको तानसेनको कार्यक्रम रोकेर तानसेनबाटै जाजरकोटका लागि निस्कन लागेको बताएका छन ।

गएराति जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर राति ११ः४७ मा गएको ६।४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ र रूकुम पश्चिममा ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यस्तै भूकम्पमा परेर जाजरकोटमा ५५ जना र रूकुम पश्चिममा ८५ जना गम्भीर घाइते भएका छन । उनीहरूको स्थानीय अस्पतालमा उपचार हुँदैछ । मध्यरातमा भूकम्प गएका कारण धेरै ठाउँमा अहिले बिहानमात्र उद्धारको काम हुँदैछ । भूकम्पको क्षति निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड केहीबेर अघि मेडिकल टोलीसहित नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट उडेका छन ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०७:४८