१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रभु बैंकको नाफा ४६.७० प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

१७ कात्तिक, काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन नाफा गत आवको सोही अवधिको तुलनामा ४६.७० प्रतिशतले बढी हो ।  अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ७० करोड ५० लाख रुपैयाँ थियो।

बैंकको वितरणयोग्य मुनाफा १६ करोड ३४ लाख रहेको छ। यो अवधिमा बैंकको सञ्चालन मुनाफा ५१.३२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा १ अर्ब १ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २९.१५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९२ करोड रुपैयाँमा सीमित थियो।

पहिलो त्रैमासमा २ खर्ब ७६ अर्ब १४ करोड ८७ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३६ अर्ब ६६ करोड ४२ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी भएको छ । चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब ९३ करोड २८ लाख ३६ हजार रहेको छ ।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७ रुपैयाँ ५७ पैसा रहेको छ । अघिल्लो वर्ष बैंकको ईपीएस २२ रुपैयाँ १९ पैसा रहेको थियो। पीई रेसियो ८.९३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ  १४७ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १०:५९