नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १ अर्ब ५२ करोड, प्रतिसेयर आम्दानी कति ?
१७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सबैभन्दा धेरै नाफा कमाएकाे छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब १४ करोड रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९५.४० प्रतिशतले बढेर ४ अर्ब १६ करोड १० लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब १२ करोड ९५ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, बैंकको सञ्चालन नाफा ५९.९० प्रतिशतले बढेर २ अर्ब ६० करोड ५४ लाख पुगेको छ ।
बैंकले इम्पेयरमेन्ट चार्ज बापत ६४ करोड ६ लाख रुपैयाँ छुट्याएको छ । चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ रहेको छ । बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९२ पैसाबाट घटेर १७ रुपैयाँ ८४ पैसा कायम भएको छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ पनि १८ रुपैयाँ ९५ पैसाले घटेर १७३ रुपैयाँ ३७ पैसा कायम भएको छ । बैंकले समीक्षा अवधिसम्म ३ खर्ब ६१ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ४ अर्ब बढी कर्जा परिचालन गरेको छ ।
प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ०९:३८