अाज देशैभर झिलीमिली बनाउन कुलमान घिसिङ अाफैँ भार प्रेषण केन्द्रमा डिउटी गर्दै
२१ कात्तिक, काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार भार प्रेषण केन्द्रमा डिउटी गर्ने भएका छन । बुधबार बेलुकी कुलमान आफैँ भार प्रेषण केन्द्रमा बसेर देशैभरिको विद्युत माग र आपूर्तिको निरीक्षण गर्ने प्राधिकरणले जनाएको छ ।
घिसिङले काठमाडौंको स्युचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशैभरिका ठूला जलविद्युत केन्द्रबाट उत्पादन भएको बिजुली, भारतबाट आयात भएको बिजुली, तथा मागको बारेमा जानकारी लिनेछन । कतै केही गडबढी भएर लोडसेडिङ भएमा समस्या समाधान गर्न घिसिङले तत्कालै निर्देशन दिनेछन।

आज देशैभरि उज्यालो राख्न कुनै कसर बाँकी नराख्ने प्राधिकरणले जनाएको छ । त्यसको लागि ठूला जलविद्युत केन्द्र, सवस्टेसन र वितरण केन्द्रमा कर्मचारी र प्राविधिक सामग्री तयार अवस्थामा राखिएको छ । आज १२ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ । तर १३ सय ५० मेगावाटसम्म माग भएमा पनि धान्न सक्ने प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार १७:२३












