२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कतारमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको सजाय, भारत ‘स्तब्ध’

१० कात्तिक, नयाँदिल्ली । कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ । समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा “नयाँदिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने” र बन्दीहरूलाई “सबै कन्सुलर र कानूनी सहयोग विस्तार” जारी राख्ने बताएको छ ।

“कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलमा फैसला सुनाएको हामीसँग प्रारम्भिक जानकारी भएको छ”, बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “हामी मृत्युदण्डको फैसलाबाट गहिरो स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौँ ।”

खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस, सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ । कतारका अधिकारीहरूका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन ।

भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती आठ व्यक्तिको कथित आरोपबारे कुनै विवरण दिएको छैन । “यो मुद्दा प्रक्रिया गोप्य प्रकृतिको भएकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन, मन्त्रालयले सबै कानूनी विकल्पहरूको खोजी गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

यद्यपि केही भारतीय मिडियाले सजाय पाउनेहरूमा पूर्वनौसैनिक अधिकारी भएको बताएका छन् । उनीहरूमा पूर्वक्याप्टेन र कमान्डर पनि रहेको छन् । उनीहरूलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो ।

टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स र प्रेस ट्रस्ट अफ इन्डिया सबैले उनीहरूलाई ‘जासुसीको कथित मामिला’ मा गिरफ्तार गरिएको बताएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १७:४९