२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

७५.३३ प्रतिशतले घट्याे घोराही सिमेन्टको नाफा

३ कात्तिक, काठमाडाैं । घोराही सिमेन्ट इन्डस्ट्रीले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार घोराही सिमेन्टको नाफा अघिल्लो वर्षको तुलनामा ७५.३३ प्रतिशतले घटेर ५ करोड ३४ लाख रुपैयाँ कायम भएकाे छ । अघिल्लो वर्षकाे यही अवधिसम्म कम्पनीले २१ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियाे ।

सिमेन्ट उद्योगमा बजार माग भन्दा बढी उत्पादन भएकोले प्रतिस्पर्धात्मक स्थितिमा बिक्रीदर घट्न गएकाले यस वर्ष संस्थाको बिक्री वितरणमा कमी भएको र आम्दानी पनि सोही अनुसार घट्न पुगेको कम्पनीले जनाएको छ ।

उद्योगको सिमेन्ट बिक्रीबाट हुने आम्दानी पनि ३.६७ प्रतिशतले घटेर ४ अर्ब ६२ करोड रुपैयाँमा सिमित भएकाे छ । अघिल्लो वर्ष सिमेन्ट बिक्रीबाट कम्पनीले ४ अर्ब ८० करोड रुपैयाँको आम्दानी गरेको थियाे ।

चुक्तापुँजी ३ अर्ब ९७ करोड रुपैयाँ रहेको घोराही सिमेन्टको रिटेन अर्निङमा ३ अर्ब ९९ करोड रुपैयाँ, अन्य रिजर्भमा ७ करोड ९० लाख रुपैयाँ र सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन अर्निङमा ३ अर्ब ९४ करोड रुपैयाँ र अन्य रिजर्भमा ७ करोड ९० लाख रुपैयाँ थियो।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार १२:३०