प्रिमियममा आईपीओ निष्काशन गरेका कम्पनीको सेयरमूल्य निरन्तर घट्दै, कुनको कति पुग्याे ?
२८ असोज, काठमाडौं । पछिल्लो समय सेयर बजारमा क्रमिक गिरावट आइरहेको छ । सेयर बजारमा गिरावट आउँदा भर्खरै आईपीओ निष्काशन गरी कारोबारमा आएको कम्पनीहरूको सेयर मूल्य पनि घटेको छ । त्यसमध्ये पनि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेका कम्पनीहरुको सेयर मूल्य निरन्तर ओरालो लागेको छ ।
पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएका कम्पनीमध्ये पहिलो कारोबारको तुलनामा ५ कम्पनीको सेयर मूल्य घटेको छ ।
धितोपत्र दोस्रो बजारमा घोराही सिमेन्ट इण्डष्ट्री, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सको सेयरमूल्य घटेको हो । भर्खरै प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेका कम्पनीहरूमध्ये घोराही सिमेन्टले सबैभन्दा महंगोमा सेयर निष्काशन गरेको थियो ।
घोराही सिमेन्टले अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीको सेयर प्रतिकित्ता ५६५.५० रुपैयाँमा पहिलो कारोबार खुला भएको थियो । गत बिहीबार यस कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ४३४.८० रुपैयाँमा झरेको छ । जुन कम्पनीको सेयर कारोबार हुँदाको सुरूको मूल्यभन्दा कम हो ।
त्यस्तै, रिलायबल नेपाल लाइफले अंकित मूल्यमा प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीको प्रतिकित्ता ४८६.६० रुपैयाँमा पहिलो कारोबार भएको थियो । गत बिहीबार यस कम्पनीको सेयर मूल्य घटेर ४२४.६० रुपैयाँमा कायम भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले अंकित मूल्यमा प्रिमियम थपेर प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीको पहिलो कारोबारको दिन ५०८ रुपैयाँमा सेयर कारोबार खुला भएको थियो । तर गत बिहीबार कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ४१० रुपैयाँमा झरेको छ ।
त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अंकित मूल्यमा प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीको पनि पहिलो कारोबार दिन प्रतिकित्ता ४७५.२० रुपैयाँमा सेयर कारोबार खुला भएको थियो । तर बिहीबार कम्पनीको सेयर मूल्य घटेर ४४० रुपैयाँमा पुगेको छ ।
त्यसैगरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियमसहित प्रतिकित्ता २३६.९१ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५२९.५० रुपैयाँमा भएको थियो । तर यस कम्पनीको पनि सेयर मूल्य गत बिहीबार घटेर ४८०.९० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार १८:१९












