गुणस्तरीय उच्चशिक्षामा प्राध्यापकहरूको जोड
२५ असोज, काठमाडौँ । नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा.बेदराज के.सी.ले उच्चशिक्षाको गुणस्तर अभिबृद्धिका लागि प्राध्यापकहरुको भूमिका अपरिहार्य हुने बताउनु भएको छ । नेपालीहरुको महान चाड विजया दशमी, दीपावली र छठको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष केसीले उक्त धारणा राख्नु भएको हो ।
कार्यक्रममा उपस्थित प्राध्यापकहरु बीच शुभकामना साझेदारी गर्दै अध्यक्ष केसीले– ‘नेपालका विश्वविद्यालयहरुलाई विश्वस्तरमा प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सबै प्राध्यापकहरुबीच सहकार्य र समझदारीको आवश्यकता छ’ भन्नुभयो । कार्यक्रमका अवसरमा उहाँले उच्चशिक्षाका क्षेत्रमा देखापरेका समस्याहरुलार्य हल गर्न सरकारको पनि सकारात्मक भूमिका अनिवार्य रहेको बताउनु भयो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय समिति र बागमती प्रदेश कमिटीको आयोजनामा भएको उक्त शुभकामना कार्यक्रममा त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहाल, विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा.डा. भीम सुवेदी, प्रगतिशील प्राध्यापक संगठनका पूर्व अध्यक्ष प्रा. विजय सिलवाल, प्रा. उपेन्द्र कोइराला, प्रगतिशील प्राध्यापक संगठनका उपाध्यक्ष रामकुमार राई, बलराम राय, महासचिव डा. पदम खतिवडा, उपमहासचिव सुमन खरेल, सचिव एवं वागमती प्रदेशका इन्चार्ज देवराज अर्याल लागयतका प्राध्यापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वागमति प्रदेश कमिटीका अध्यक्ष कृष्ण ओलाले गर्नुभएको थियो ।
प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार २०:५५