८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

विश्वकप क्रिकेट : भारतद्वारा अफगानिस्तान ८ विकेटले पराजित

२४ असोज, काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज भएको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ । भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको हो ।
भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७२ रन बनायो । भारतले दुई सय ७३ रनको विजयी लक्ष्य ३५ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । भारतका कप्तान रोहित शर्माले कीर्तिमानी ब्याटिङ गरे ।
उनले ८४ बलमा १६ चौका र पाँच छक्कासहित सर्वाधिक एक सय ३१ रन बनाए । विश्वकपमा शर्माको यो सातौँ शतक हो । उनी विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि विश्वकपमा भारतका पूर्वकप्तान सचिन तेन्दुलकरले ६ तथा श्रीलङकाका पूर्वकप्तान कुमार सङ्गाकारा र रिक्की पोन्टिङले पाँच पाँच शतक प्रहार गरेका थिए ।
यस्तै भारतका लागि ईशान किशनले ४७ बलमा पाँच चौका र दुई छक्कासहित ४७, विराट कोहलीले ५६ बलमा ६ चौकासहित ५५ तथा श्रेयस अययरले २३ बलमा एक चौका र एक छक्काको मद्दतमा २५ रन बनाए । बलिङतर्फ फगानिस्तानका राशिद खानले आठ ओभरमा ५७ रन खर्चेर दुई विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानका लागि कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा आठ चौका र एक  छक्कासहित ८०, आजमतुल्लाह ओमरजाईले ६९ बलमा दुई चौका र चार छक्कासहित ६२, रहमाउल्लाह गुरबाजले २८ बलमा तीन चौका र एक छक्कासहित २१, इब्राहिम जद्रानले २८ बलमा चार चौकासहित २२, मोहम्मद नाबीले १९ तथा रहमात शाहले १६ रन बनाए ।
बलिङतर्फ भारतका जस्प्रित बुमराहले १० ओभरमा ३९ रन खर्चेर चार, हार्दिक पान्ड्याले सात ओभरमा ४३ रन खर्चेर दुई तथा शार्दुल ठाकुर र कुलदीप यादवले एक एक विकेट लिए । यसअघि पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो । अफगानिस्तान भने बङ्गलादेशसित ६ विकेटले पराजित भएको थियो । भारतले अब आफ्नो तेस्रो खेल शनिबार पाकिस्तानसित खेल्नेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार २२:२३