११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

सेयर कारोबारमा अनाधिकृत रुपमा तथ्याङ्क प्रयोग गरे कारबाही गर्ने नेप्सेको चेतावनी

२३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।  नेप्सेले एक सूचना प्रकाशित गरी नेप्सेका तथ्यांकहरु अनाधिकृत रुपले प्रयोग गरे वा गराएको पाइएमा कानुनी कारबाहीको प्रक्रियामा जाने चेतावनी दिएको हो ।

‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणाली मार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक प्रयोगकर्ताले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा (४) अनुसार निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ । साथै अनाधिकृत रुपले नेप्सेका तथ्यांकहरुको प्रयोग नगरीदिनु हुन सम्पूर्ण प्रयोगकर्तालाई अनुरोध गरिन्छ । यसरी अनाधिकृत रुपले नेप्सेको तथ्यांकहरुको प्रयोग गरेरगराएको पाईएमा नेप्से कानूनी कारबाहीको प्रक्रियामा जान बाध्य हुने सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’  नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।

‘प्रयोगकर्ता’ भन्नाले “नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ अनुसार नेप्सेको प्रणालीमा सिर्जित तथ्यांक प्रयोग गर्ने लगानीकर्ता, तथ्याङ्क व्यापारी, वित्त विश्लेषक, औजार विकासकर्ता, सञ्चारमाध्यम, विद्यार्थी, गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्था” सम्झनु पर्दछ । तथ्याङक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ नेप्सेको वेभसाईटमा प्राप्त गर्न सकिने समेत सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १६:४८