छुट्ला है ! अपर तामाकोशीको हकप्रद भर्ने आज अन्तिम दिन
२२ असोज, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज असोज २२ गते सोमबार अन्तिम दिन रहेको छ।
कम्पनीले गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको छ।
सीडीएससीका अनुसार हिजो साँझ ५ बजेसम्ममा २ लाख ६१ हजार ६१८ आवेदकबाट २ करोड ९१ लाख ५६ हजार ७७४ कित्ता हकप्रद सेयर खरिद भइसकेको छ। हकप्रद निष्कासनार्थ कम्पनीले गत साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार ०९:२६












