११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

अपर तामाकोशीको हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

२१ असाेज, काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने असोज २२ गते साेमबार अन्तिम दिन रहेकाे छ । कम्पनीले भदौ १८ गतेदेखि निष्काशन गरेकाे हकप्रदमा अहिलेसम्म २ अर्ब ८३ करोड ९ लाख ८३ हजार ६०० रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज बिहान १०ः०६ बजेसम्ममा २ लाख ३६ हजार ४१७ जना सेयरधनीले २ करोड ८३ लाख ९ हजार ८३६ कित्ता हकप्रद सेयरमा आवेदन दिएका छन् । भने, अझै ७ करोड ७५ लाख ९० हजार १६४ कित्ता हकप्रद सेयरमा आवेदन पर्न बाँकी रहेको छ ।

कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि गत साउन २६ गते बुकक्लोजको मिति तोकेको थियो । यसको अर्थ साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १२:३२