८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

२० असोज, काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए । आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अङ्कले जित्यो । दोस्रो सेटमा भने नेपाल २५–१८ अङ्कले विजयी भयो ।

तेस्रो सेटमा पनि नेपाल २५–२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५–१८ अङ्कले उछिन्यो । अन्तिम सेटमा नेपाल १५–१२ अङ्कले विजयी बन्यो । यसअघि शुक्रबार भएको खेलमा नेपाल हङकङसित ३–० को सोझो सेटमा पराजित भएको थियो । हङकङले नेपाललाई २५–२२, २५–१६ र २५–१८ अङ्कले पराजित गरेको थियो । यस्तै बुधबार भएको खेलमा नेपाल भारतसित ३–१ सेटले पराजित भएको थियो ।

भारत उक्त खेलमा २५–२३, २६–२८, २५–२३ र २५–१७ अङ्कले विजयी भएको थियो । यसअघि नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित ४–२५, १६–२५ र १३–२५ अङ्कले तथा दोस्रो खेलमा दक्षिण कोरियासित २१–२५, १४–२५ र ११–२५ अङ्कले पराजित भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार १३:५२