चार कम्पनीको सेयर कारोबारमा आउँदै, कुनले कति पाउलान् ओपनिङ रेन्ज ?
१९ असाेज, काठमाडाैं । विभिन्न चार कम्पनीकाे आईपीओ काराेबारमा आउने भएका छन् । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरिसकेका चार कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा आगामी साताबाट कारोबार आउन सक्ने सम्भावना रहेको छ।
भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी र मिड सोलु हाइड्रोपावरको सेयर आगामी साताबाट कारोबारमा आउने सम्भावना रहेको नेप्सेका एक अधिकारीले बताए । नेप्सेमा फाइल आइसकेकाले सम्भवतः आगामी साताभित्रैबाट यी कम्पनीकाे सेयर काराेबारमा आउन सक्ने ती अधिकारीले बताए ।
१) भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ गत भदौ १८ गते बाँडफाँड सम्पन्न भइसकेकाे छ । कम्पनीले गत भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीकाे आईपीओ न्यूनतम १२०.४१ रुपैयाँदेखि अधिकतममा ३६१.२३ रुपैयाँ ओपनिङ रेन्ज पाउने देखिएको छ। नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । भगवती हाइड्रोपावरकाे आर्थिक वर्ष २०७८/७९को वास्तविक प्रतिसेयर नेटवर्थ १२०.४१ रुपैयाँ रहेको छ। साेही नेटवर्थकाे ३ गुणा ३६१.२३ रुपैयाँ हुन्छ ।
२) माण्डु हाइड्रोपावर
माण्डु हाइड्रोपावरको आईपीओ गत भदौ २४ गते बाँडफाँड सम्पन्न भइसकेकाे छ। कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। माण्डु हाइड्रोपावरकाे आईपीओले न्यूनतम १२४.४२ रुपैयाँदेखि अधिकतममा ३७३.२६ रुपैयाँ ओपनिङ रेन्ज पाउने देखिन्छ। नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । माण्डु हाइड्रोपावरको आर्थिक वर्ष २०७८/७९को वास्तविक प्रतिसेयर नेटवर्थ न्यूनतम १२४.४२ रुपैयाँ रहेको छ। साेही नेटवर्थकाे ३ गुणा ३७३.२६ रुपैयाँ हुन्छ ।
३) हाथवे इन्भेस्टमेन्ट नेपाल
हाथवे इन्भेस्टमेन्ट नेपालले सर्वसाधारणका लागि जारी गरेको आईपीओ गत असोज २ गते बाँडफाँड गरिसकेकाे छ। कम्पनीले गत भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीकाे आईपीओले पहिलो कारोबारका लागि न्यूनतम ९५.०९ रुपैयाँदेखि अधिकतममा २८५.२७ रुपैयाँ ओपनिङ रेन्ज पाउने देखिन्छ।
४) मिड सोलु हाइड्रोपावर
मिड सोलु हाइड्रोपावरकाे आईपीओ असोज १० गते बाँडफाँड भइसकेकाे छ। कम्पनीले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। मिड सोलु हाइड्रोपावरकाे आईपीओले न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिन्छ।
प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार १२:३१












