१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
१७ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले असोज १९ गते १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र भोलि (असोज १८ गते) बोलकबोलमार्फत बिक्री गरिनेछ। ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ ।
यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्। याे ऋणपत्र २०८८ असोज १९ गते परिपक्व हुनेछ। यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।
बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. ८ अर्ब ५० करोड र रु. १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।
प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १३:१०












